भक्तपुर, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले साहित्कार, राजनीतिक दल तथा जनताको चेतानाले त्यो समाजको विकास र समृद्धिको मापन गर्ने बताउनुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. २ वालकोटदेखी सिरुटार जाने सडकमा शनिबार सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सांसद बस्नेतले जनप्रतिनिधिको कमजोरीका कारण हिजो भक्तपुर विकास र समृद्धिमा पछि परेको बताउँदै आगामी दिनमा भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो भक्तपुरको विकास सडक, ढल, खानेपानीलगायतका जनताको मागहरु रहेको थियो भने आजका त्यसमा सिमित रहेन कि अव भक्तपुरको विकासको माग हरियाली प्रवद्र्धन, स्वच्छ वातावरण, पार्क, मर्निङ स्पोर्ट, खेल परिषद्लगायतका कुराहरुको माग शुरु हुनु नै भक्तपुर समृद्धिको दिशामा अघि बढिरहेको छ ।’
भक्तपुर समय र परिस्थिती तथा जनताको चाहना अनुसार विकास र समृद्धिमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन बर्षभित्र भक्तपुरको विकाशले काँचुली फर्नेछ, राज्यको लगानीबिना पनि विकाश संभव छ भन्ने प्रमाणित भक्तपुरले गरिसकेको छ । समयको मापन गर्ने कुरा त्यहाँको साहित्कार, राजनीतिक दल तथा जनताको चेतानाले त्यो समाजको विकास र समृद्धिको मापन गर्छ । आज वालकोट क्षेत्रले विकास र समृद्धिको मापन गरेको छ, त्यो नै सिङ्गो भक्तपुरको मापन हो ।’
अवको १५ वर्ष भित्रमा भक्तपुर हरियाली युक्त भएको जिल्लाको रुपमा विकास गर्नुपर्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले वालकोटदेखी सिरुटारसम्म हरियाली हुने कुरामा कुनै द्विविधा नरहेको तर त्यसमा सवैको प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले नयाँ घर निर्माण हुँदा कम्तिमा चार वटा विरुवा लगाउनुपर्ने अनिवार्य बनाउनुपर्नेमा जोड दिनुभयो ।
आगामी दिनमा भक्तपुर प्रकृतिसँग जोडिन चाहेको बताउँदै उहाँले भन्नुभयो, ‘दिल्लीमा भएको हरियाली प्रवद्र्धनले तीन डिग्री तापक्रम घटेको, दुवईमा पानी पर्न थालेको छ । जसले गर्दा मानविय जीवनमा वातावरण सवैभन्दा महत्वपूर्ण कुरा हो । जसलाई संरक्षण तथा सम्वद्र्धन गर्नु अति आवश्यक रहेको छ ।’
आगामी दिनमा भक्तपुरका जनताको आवश्यकता अनुसार विकास हुने बताउँदै उहाँले दुई तीन वर्षमा सडक, ढल तथा खानेपानीको समस्या समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा सवै कामको लागि सरकारको मुख ताक्ने प्रवृक्ति थियो । काम हुँदा पनि खुसी नहुने र काम नहुँदा पनि सरकारलाई गाली गर्ने प्रवृक्ति थियो । गाली गलैचको संस्कृतिको विकास भएको थियो ।’
उहाँले भक्तपुरको विकासले देशभर नै अनुकरणीय बनिरहेको बताउँदै सांसद बस्नेतले राज्यको शुन्य लगानीमा प्रसस्त कामहरु गर्न सकिने बताउनुभयो । राज्यको लगानीबिना नै शुरु भएको हनुमन्ते सफाइ अभियान, राजमार्ग सफाइ अभियान, हरियाली प्रवद्र्धन अभियान, सुरक्षित सडक अभियान, उज्यालो भक्तपुर अभियान सञ्चालन भइरहेको उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य शशीजङ्ग बस्नेत, सूर्यबिनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं– २ बालकोटका वडाध्यक्ष कमलनाथ आचार्य, अभियन्ता चन्द्रकृष्ण श्रेष्ठ, सिमाङ्कन समितिका संयोजक रवि राणा लगायतले हरियाली प्रवद्र्धन अभियान नमूनाको अभियान भएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्