विश्व

भारत अब एक देश, एक निर्वाचनमा जान्छ : भारतीय प्रम मोदी



नयाँदिल्ली, ३० साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ को अवधारणा लागू हुने बताउनुभएको छ ।

भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिनुभयो । प्रधानमन्त्री मोदीले भन्नुभयो, “जिएसटीले एक देश, एक करको सपनालाई साकार पारेको छ । ऊर्जा क्षेत्रमा पनि एक देश, एक ग्रीड प्रणाली कार्यान्वयनमा आइसकेको छ । अब एक देश, एक मोबिलिटी कार्डको प्रबन्ध हुँदैछ, र चाँडै हामी एक देश, एक निर्वाचनमा जानुको विकल्प छैन ।”

‘एक भारत, श्रेष्ठ भारत’को सपना पूरा गर्न केही जरुरी कामहरु गर्नुको विकल्प छैन भन्दै प्रधानमन्त्री मोदीले काश्मिरका विषयमा लिइएको निर्णय पनि त्यसैको एक हिस्सा हो भन्नुभयो । उहाँले जम्मु काश्मिरलाई संविधानको धारा ३७० बाट हटाउने सरदार पटेल र अरु प्रमुख भारतीय नेताहरुहरुको चाहना आज पूरा भएको चर्चा गर्नुभयो ।