Banner News

कर्मचारीको मुख हेरेर तथा भनसुनका भरमा सरुवाबढुवा गर्ने दिन सकियो : मन्त्री पण्डित



पर्वत, ३२ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले कुनैपनि कर्मचारीको अनुहार हेरेर सरुवा बढुवा नगर्ने बताउनुभएको छ ।

प्रेस सङ्गठनले कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वेच्छाचारी ढङ्गले नभइ योग्यता, क्षमता, ज्येष्ठता र प्रणालीको परिधिभित्र रहेर निजामती सेवाका कर्मचारीको बढुवा र जिम्मेवारी तोकिने बताउनुभयो ।

अहिले झण्डै ३२ हजार कर्मचारीको अभाव रहेको बताउँदै मन्त्री पण्डितले तिहारभित्र लोकसेवा आयोगले नतिजा प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनै पनि तहमा कर्मचारीको अभाव नहुने जिकिर गर्नुभयो । उहाँले काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाही गर्ने गरी ऐन ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले कार्यालय समयमा कर्मचारी ट्रड यूनियन नहुने उल्लेख गर्दै सामूहिक राजीनामा दिनेलाई तत्काल बिदाइ गरिने बताउनुभयो ।

मन्त्री पण्डितले सङ्घीय निजामती ऐन अन्तिमचरणमा रहेकाले यसै साता संसद्बाट पारित हुने समेत जानकारी गराउनुभयो ।