काठमाडौँ, ३२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले पर्यटनको राजधानीको रुपमा पोखरा रहेको बताउँदै फेवाताल र अन्य प्राकृतिक स्रोत साधनको संरक्षण, संम्बद्र्धन तथा विकासको निम्ती जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेशका सांसद तथा पूर्वयुवा संघ नेपालका अध्यक्ष राजिव पहारीको नेतृत्वमा आएको टोलले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले नेपाल सरकारले भिजिट नेपाल २०२० लाई सफल बनाउन नेपालमा रहेको पर्यटकीय स्थलहरुको व्यापक मात्रामा विकास, विस्तार तथा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भ्रमण वर्ष २०२० नेपालको लागि आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका कुराहरुको तिव्र विकास र समृद्धिको बाटोमा अघि बढाउने मूख्य कार्य भएको भन्दै भ्रमण वर्षलाई सफल बनाउन मन्त्रालयले सातवटै प्रदेशसँग विस्तृत विवरण तथा योजनाहरु समेत माग गरेको जानकारी गराउनुभयो ।
फेवातालको विकास र सम्बद्र्धन गर्न तीन वटै तहका सरकारको आ–आफ्नै प्रकारको जिम्मेवारी रहेको बताउँदै मन्त्री भट्टराईले केन्द्र सरकारले गर्नुपर्ने सिमाङ्कन लगायतका कार्यहरुमा सम्बन्धीत भूमि सुधार मन्त्रालयलाई तत्काल आग्रह गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
भ्रमण वर्ष २०२० जनवरी १ तारिकको दिन एकै पटक देशै भरी उद्घाटन हुने जानकारी गराउँदै उहाँले उक्त समयसम्ममा पर्यटकीय क्षेत्रमा रहेको सम्पूर्ण समस्याहरु तीनवटै तहका सरकारको विशेष पहलमा समाधान गरीसक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकीय विकासको निम्ती पोखरामा रहेको हिमागृह रत्न मन्दिरलाई आन्तरिक तथा बाह्य पर्यटकको लागि खुल्ला गराउन विशेष पहल गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
फेवाताल संरक्षणको लागि सर्वोच्च अदालतले गरेको फैसलालाई आत्मसात् गरी अघि बढ्नुको कुनै विकल्प नभएको बताउँदै ताललाई ६५ मिटरको कायम हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देश विकासको निम्ती जनता, नीजि तथा सरकारको सहकार्य अपरिहार्य रहेको बताउँदै पर्यटन विकासको निम्ती छलफल, नीति निर्देशिका, योजनालगायतका कुराहरु तत्काल बनाई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विमानस्थल देशकै गौरवको विषय रहेको बताउँदै मन्त्री भट्टराईले विमानस्थल निर्माण कार्य तिव्र गतिका साथ अघि बढेको बताउनुभयो । उहाँले पोखरा विमानस्थल निर्धारित समयभन्दा अघि नै सम्पन्न हुने विश्वास दिलाउनुभयो । उहाँले गुठि संस्थानले तालबाराही समिधा गुठीको जग्गा लिजमा व्यक्तिलाई दिन नहुने बताउँदै त्यसको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सांसद पहारीले फेवातालको संरक्षण तथा विकासको निम्ती आवश्यक आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । उक्त आग्रह पश्चात मन्त्री भट्टराईले मन्त्रालयको बजेटको अवस्था बुझी निर्णय दिने र आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै सांसद पहारीले फेवातालमा पर्यटकको आकर्षलाई वृद्धि गर्न उक्त स्थानमा २०२० नेपाल भ्रमण बर्षकाे लागी पर्यटन मैत्री पार्क निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल ट्रष्टको अण्डरमा रहेको हिमागृह रत्न मन्दिरलाई खुल्ला तथा पार्क निर्माण गरे कम्तिमा पनि एक दिन पर्यटकहरु घुम्न पाउने ठाउँको निर्माण हुने बताउँदै सांसद पहारीले फेवाताल, रत्न मन्दिरको बास्तविकता तथा आगामी दिनमा त्यसको आवश्यकता र महत्वको बारेमा जानकारी गराउनुभयो । त्यस्तै उहाँले गुठीको जग्गा व्यक्तिको नाममा लिजमा दिए बिचौलियाको हातमा प्रवेश गराई जग्गा हडप्ने उद्देश्यका साथ प्रस्ताव आह्वान गरिएको जानकारी गराउनुभयो ।
सांसद पहारीको नेतृत्वमा रहेको टोलीमा भ्रमण वर्ष २०२० गण्डकी प्रदेश संयोजक अग्नी कँडेल, पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगत पहारी, सदस्य हरी पहारी, तालबाराही गुठी संस्थाका अध्यक्ष हिक्मत बहादुर कुँवर, कोषध्यक्ष प्रेम राज पहारी, सदस्य जुना अधिकारी लगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्