बागलुङ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार तिव्र विकास र समृद्धिका साथ अघि बढिरहेको बताउँदै आगामी केही वर्षभित्रमा काम भएन भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्ने बताउनुभएको छ ।
ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले खानी, पानी, श्रम र संस्कृतिले नेपालको समृद्धिलाई अगाडि बढाएको भन्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो, “समृद्धि त हासिल गरेरै छाड्छौँ, लगानी र प्रतिफलतर्फ सरकार अग्रसर छ, जनता ढुक्क भए हुन्छ । धरहरा, अन्तरराष्ट्रिय विमानस्थल जस्ता कार्य निर्माण हुनु भनेको नै समृद्धि हो । काम भएन भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्नेछन् ।”
मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माणमा आफू लागेको बताउँदै फोरजी, स्याटलाइटजस्ता सञ्चार प्रविधिको विकासमा नेपालले फड्को मारेको उल्लेख गर्नुभयो । सरकारले यस वर्ष पत्रकारसम्बन्धी १२ वटा कानून बनाउन लागेको जानकारी गराउँदै मन्त्री बाँस्कोटाले यो वर्ष पत्रकारका लागि महत्वपूर्ण रहनेछ भन्नुभयो ।
उहाँले समृद्धिको आधारका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग, कालीगण्डकी करिडोरलाई उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । “समृद्धिका सपना पूरा गर्न यसका आधार निर्माण गर्नेतर्फ सरकार लागिपरेको छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘‘समृद्धि र सुखी’ भन्ने नारा जनताको सङ्कल्प हो । यसलाई पूरा गराउन सरकार प्रतिवद्ध छ ।’’
फरक प्रसङ्गमा मिडियालाई अपराध लुकाउन हैन, देखाउनका लागि उपयोग गर्न मन्त्री बाँस्कोटाले पत्रकारलाई आग्रहसमेत गर्नुभयो । “प्रहरीले स्वतन्त्ररुपमा कुनै पनि घटनाको अनुसन्धान गर्न सक्छ”, उहाँले भन्नुभयो, “गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन ।” उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले बागलुङ जिल्ला संस्कृतिमा समेत धनी रहेको बताउँदै गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको छ भन्नुभयो ।










प्रतिक्रिया दिनुहोस्