राजनीति

सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या चाँडै निराकरण हुन्छ : मन्त्री भट्टराई



काठमाडौँ, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा उडान अवरुद्धको समस्या चाँडै निराकरण हुने बताएका छन् ।

बिहीबार विमानस्थलको अनुगमन गर्दै मन्त्री भट्टराईले मौसम खराबी लगायतका कारण नियमित उडान नहुँदा जिल्लावासी तथा पर्यटक सुविधाविहीन भएकाले विमानस्थलको स्तरोन्नतिमा ढिला नहुने बताए ।

उक्त विमानस्थलको दुवै भागबाट विमान अवतरण गर्न सक्ने गरी स्तरोन्नति गर्ने र मौसम सफा नहुँदासमेत उडान गर्न सकिने गरी उपकरण जडान गर्ने बताउदै उनले तराईका केही विमानस्थलमा यस्ता उपकरण जडानको तयारी भइरहेको र यसलाई अन्य क्षेत्रमा विस्तार गर्दै लगिने बताए ।

मन्त्री भट्टराईले आजै बिहान जिल्ला प्रहरी कार्यालयमा स्थापना गरिएको ‘समुदाय–प्रहरी पुस्तकालय’ लाई सहयोग हस्तान्तरण गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले उपलब्ध गराएको तीन लाखको चेक फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेललाई उनले हस्तान्तरण गरेका हुन् । मन्त्री भट्टराईको पहलमा उक्त रकम कम्पनीका महेश गुरागाईंले पुस्तकालयमा पुस्तक खरीदका लागि सहयोग गरेका हुन् ।