स्वास्थ्य

डेंगुबाट देशभरका १५३७ जना संक्रमित



डेंगुबाट देशभरका १५३७ जना संक्रमित भएका छन् । कर्णालीबाहेकका सबै प्रदेशमा फैलिइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले जनाएको छ ।

महाशाखाका अनुसार डेंगु संक्रमण देखिएका ६ वटा प्रदेशमध्ये प्रदेश नं. १ सबैभन्दा बढी संक्रमित छ । भदौ ११ गतेसम्मको तथ्यांकअनुसार यो प्रदेशको १८ जिल्लामध्ये ९ जिल्ला डेंगुबाट प्रभावित छन् र ५६३ जना संक्रमित छन् ।

प्रदेश १ को सुनसरीमा सबैभन्दा धेरै ३३१ जना संक्रमित भएका छन् । सुनसरीको पनि धरानमा सबैभन्दा धेरै डेंगु रोगी भेटिएका महाशाखाको तथ्यांकमा उल्लेख छ । प्रदेश १ कै झापामा भदौ ११ गतेसम्मा यहाँका १२४ जना बिरामी उपचारका लागि अस्पतालको सम्पर्कमा पुगेका छन् ।

प्रदेश २ का ९ जिल्लामध्ये ७ मा संक्रमण फैलिएको छ र बिरामीको संख्या १४ पुगेको छ । प्रदेश ३ पनि भदौ ११ गतेसम्म अस्पतालको सम्पर्कमा पुगेका यहाँका ५ सय ५९ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।

महाशाखाका अनुसार, गण्डकी प्रदेशका ३३९ जना बिरामी परेका छन् । बिरामीमध्ये अधिकांश कास्की जिल्लाका छन् । अस्पतालको सम्पर्कमा पुगेकामध्ये कास्कीका ३५९ जनामा डेंगु पुष्टि भेटिएको छ । प्रदेश ५ मा ५६ र सुदूरपश्चिममा ६ जना डेंगुका बिरामी पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

३ महिनाअघि धरानमा देखापरेको डेंगुको संक्रमणबाट हालसम्म कम्तिमा ३ जनाको मृत्यु भइसकेको छ ।