राजनीति

तपाईहरुले साथ दिनुहोस्, म ए थोपा रगत रहुञ्जेल लड्छु : सभापति पाल



काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले मुलुकमा रहेको महिला हिंसाको विरुद्ध लड्न आम नेपाली नागरिकको सहयोगको खाँचो रहेको औल्याउँदै आफ्नो शरिरमा एक थोपा रगत रहुञ्जेसम्म हिंसाको विरुद्धमा लडिरहने उद्घोष गर्नु भएको छ ।

मन्त्रालयले काठमाडौँमा मानव बेचविखन तथा ओसारपसार विरूद्धको १३औं राष्ट्रिय मुल समारोह समितिद्वारा आयोजित समारोहमा बोल्दै सभापति पालले मानव बेचविखन विरुद्धको अभियान चलाउने दिनेको अन्त्य गर्दै आगामी दिनमा मानव बेचविखन अन्त्य भएको दिनको रुपमा घोषणा गर्ने गरी कडाईका साथ तिव्र गतिमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

महिला हिंसा तथा मानव बेचविखन नेपाल सरकारले मात्र गरेर सम्भव नरहेको बताउँदै नीजि, सरकारी संघसंस्था तथा आम नागरिकहरु एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, टोल टोल–घर घरमा रहेको व्यक्तिहरुले आफैले प्रतिवद्धता जनाउनु जरुरी छ कि अब म गलत काम गर्ने छैन । समाजको कुनै पनि प्रकारका गलत कृयाकलापको लागि म जस्तो सुकै आवाज उठाउँछु भन्ने सोचको विकास हुनु जरुरी छ ।’

मानिसको प्रतिवद्धता नै अपराधिक कृयाकलापको न्युनिकरण भएको बताउँदै सभापति पालले उहाँले भन्नुभयो, ‘म यो प्रतिवद्धता जाहेर गर्न चाहन्छु कि मेरो शरिरमा एक थोपा रगत रहुँञ्जेलसम्म समाजमा हुने अन्याय, अत्याचार, कुसस्कृत, कुसस्कारलगायतका कार्यहरुको निमती लडिरहने छु । आफ्नै आफन्त तथा घरभित्रकै सदस्य भएपनि त्यस प्रकारका अपराधिक कृयाकलापको विरुद्धमा लागिरहने छु ।’

नेपाली समाजमा रोजगारीको बहानामा आफन्त, छरछिमेकीलगायतका नजिकका व्यक्तिहरुले नै मानव बेचविखन गर्ने गरेको बताउँदै उहाँले नेपाली चेलीहरुले कुनै पनि निर्णय लिनुभन्दा अघि अब कसैको ललाई फकाईमा नभई बास्तविकता बुझेरमात्र कुनै पनि निर्णयमा पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अराजकताको अन्त्यको लागि एक छाक मात्र खाऔं, फाटेको कपडा सिलाएर नै लाऔं तर ललाई फकाई गर्ने कार्यमा नलागौं ।’