सिन्धुपाल्चोक, २१ भदौ । खानेपानी मन्त्री बिना मगरले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागिएको बताउँदै नेपाल दक्षिण एशियामै पहिलो खुल्ला दिसामुक्त देश हुँने भएको बताउनुभएको छ ।
सिन्धुपाल्चोक जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा सभामामा मन्त्री मगरले दक्षिण एसियाका धेरै मुलुकहरु खुल्ला दिशामुक्त बनाउने प्रकृयामा रहेता पनि नेपाल सवैभन्दा पहिलो हुने दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘नेपाल दक्षिण एशियामै पहिलो खुल्ला दिसामुक्त देश हुँदैछ । दक्षिण एसियाका अरु देशहरु पनि यो अभियानको क्रममा छन्, भारत लगायत अरु देशहरु पनि खुल्ला दिसामुक्त अभियान छन् । तर, नेपालको अभियान अरु देशको भन्दा पृथक छ । अरु देशमा यो अभियान सरकार र केही प्रतिनिधि सामेल भएर गरेका छन् । तर, नेपालमा सिङ्गो देश र सम्पूर्ण नागरिक नै यो अभियानमा सामेल छन् ।’
मेलम्ची आयोजनाको सम्बन्धमा मन्त्री मगरले स्थानीय श्रमिक मजदुरहरुको माग सरकारले छिट्टै समाधान गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘हामी नेपाली कामदार, स्थानीय टेन्डर र अन्य सरोकारवालाका मागप्रति गम्भीर छौं। तर, कानुनभन्दा बाहिर गएर हामी निर्णय गर्न नसक्ने परिस्थितिमा छौं । वैधानिक बाटो खोजेर समस्या समाधान गर्न हामी निरन्तर लागिरहेका छौं ।’
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, भोजपुर, काठमाडौँ र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्