एजेन्सी, २५ भदौ । उत्तर कोरियाले मंगलबार दुई वटा साना क्षेप्यास्त्र पूर्वी कोरियाली द्वीपमा परीक्षण गरेको छ ।
उत्तर कोरियाले नयाँ हतियार समुद्री तटतर्फ प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु कम्तीमा आंशिक फुकुवा हुनुपर्ने आग्रह अमेरिकासमक्ष राख्दै आएको छ । प्रतिबन्धहरु फुकुवा गर्नेतर्फ कुनै कदम नचालिए वार्ताको औचित्य नै नरहने कोरियाली नेता किम जोङ अनले राख्दै आएका छन् ।
उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच पुनः वार्ता शुरु गर्ने सहमति भइसकेको छ, तर वार्ताको मिति अझै तय भइसकेको छैन । उत्तर कोरियाले मंगलबार प्रहार गरेको सीमित क्षमताका दुई वटा क्षेप्यास्त्र करिब ३३० किलोमिटर टाढा कोरियाली समुद्रमा खसेका थिए । यी क्षेप्यास्त्रहरु राजधानी प्योङयाङको बाहिर फ्यानगानबाट प्रहार गरिएका थिए ।
दक्षिण कोरियाली सेनाले यी हतियार ब्यालिस्टिक क्षेप्यास्त्र वा रकेट आर्टिलरी के हो भन्ने स्पष्ट नभएको जनाएको छ । कोरियाली सेनाका प्रवक्ता किम जून–राकले उत्तर कोरियाले प्रहार गरेका हतियारको विस्तृत प्राविधिक क्षमता जाँच्ने कार्य भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्