अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ । चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ ।
चौरसिया पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखाका विद्यालय निरीक्षक हुन् । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले चौरसियालाई फरकफरक कसुरमा दसवटा मुद्दा चलाइएको जानकारी दिए । अख्तियारले बुधबार विशेष अदालतमा भ्रष्टाचारका १४ मुद्दा दर्ता गरेको छ । चौरसियाले राहत, करार शिक्षक र बालविकास सहयोगी शिक्षकलाई परीक्षा नलिई नियुक्त गरेको दाबी अख्तियारको छ ।
अख्तियारका अनुसार चौरसियाले शिक्षक नियुक्त गर्दा प्रत्येक व्यक्तिसँग ५० हजारदेखि ४ लाख २० हजारसम्म घुस लिएका छन् । उनले जितेन्द्रप्रसाद कुर्मीसँग २ लाख, फिरोज अलामसँग २ लाख २० हजार, हकिम अन्सारीसँग ३ लाख ९० हजार, लालबाबु साहसँग २ लाख ८० हजार, अब्दुल्ला राउतसँग ४ लाख १५ हजार, नागेन्द्र महरा चमारसँग ४ लाख २० हजार, वीरेन्द्र महरासँग ४ लाख, उषाकुमारी रामसँग ५० हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
चौरसियाले दुई लाख घुस लिई नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जमुनियामा परीक्षा नलिई प्रधानाध्यापक नगेन्द्रप्रसादको मिलोमतोमा जितेन्द्रप्रसाद कुर्मीलाई राहत शिक्षक नियुक्ति गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । गलत तथा नक्कली कागजातका आधारमा राहत शिक्षकमा नियुक्त भई कुर्मीले तलबभत्ताबापत ४ लाख २६ हजार ५६० बुझेका छन् । चौरसिया र कुर्मीविरुद्ध घुसको दुई लाख र तलबको ४ लाख २६ हजार ५६० सहित ६ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक नागेन्द्रप्रसादविरुद्ध भुक्तानी दिलाउने मतियार बनेको आरोपमा ४ लाख २६ हजार ५६० बिगो कायम गरिएको छ । यससम्बन्धी विस्तृत समाचार आजकाे अन्नपूर्ण पाेस्टमा छ ।










प्रतिक्रिया दिनुहोस्