राजनीति

मुख्यमन्त्री राईद्वारा संविधान दिवसको शुभकामना



विराटनगर, ३ असोज । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले संविधान दिवस-२०७६ को शुभकामना दिनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षा पछि जनताको जनभावना र अपेक्षा सम्बोधन गर्ने दस्तावेज हो । यो सबै जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, वर्ण, भूगोलका जनतालाई एकताको सुत्रमा आवद्ध गर्ने माध्यम हो । अर्थात राष्ट्र निर्माणको आधार स्तम्भ हो ।’

उहाँले नेपालको संविधानले धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नुका साथै सबै वर्ग क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको र लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण रुपमा सार्वभौम बनाएको उल्लेख गनुभएछ छ । उहाँले भन्नुभएको छ, ‘आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्नेछ । र, यस प्रति सबै नेपाली संकल्पित हुने मैले विश्वास लिएको छु,’ मुख्यमन्त्री राईले भन्नुभएको छ ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न प्रदेश-१ सरकार क्रियाशील रहेको उहाँले बताउनुभएको छ । यही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल दृष्टिकोण सहित प्रदेश सरकार अगाडि बढिरहेको र चुनौती पनि धेरै रहेको बताउँदै उहाँले भन्नुभएको छ, ‘संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । तसर्थ राजनीतिक संक्रमणकाल समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा स्वच्छ, सुखी र समुन्नत प्रदेशको मुल दृष्टिकोण सहित हामीले पहिलो आवधिक योजना तर्जुमा गरेका छौं । कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास हाम्रो प्राथमिकतामा छन् । समावेशी सहभागीता र न्यायपूर्ण समाज निर्माणलाई हामीले महत्व दिएका छौं । सबै समुदायको धर्म, संस्कृति, भाषा, लिपी कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबूत बनाउने सरकारको अभिप्राय छ ।’