राजनीति

पौडेलको चुनौती पन्छाउँदै समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प



हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन ।

मुख्मन्त्री पौडेलले संविधान दिवसका अवसरमा एक सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन ।

जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तव्य प्रस्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ । प्रदेश नं ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छ । यसका लागि हामी सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता छ । संविधान दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ ।’

आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाले आफ्नो अमूल्य जीवनको बलिदानी दिनुभएको छ । संविधान दिवसका अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान् शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु । घाइते तथा अशक्त योद्धाप्रति सम्मान व्यक्त गर्दछु ।