समाचार

टेलिकमको फोरजी दशैंभित्रै मुख्य शहरमा पुग्ने



काठमाडौँ, ४ असोज । नेपाल टेलिकमले दशैंअघि नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ ।

टेलिकमको अनुसार देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै सेवा सुरु गर्ने गरी तयारी भएको साथै कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको र सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको जनाएको छ ।

गत माघमा एक वर्षमा काम सिध्याउने गरी ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । लक्ष्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ ।

टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्‍यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् ।

टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा र्‍यान नेटवर्क तयार गर्नेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । र्‍यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ ।