राजनीति

कानून पालना गराउन सरकार कठोर हुन्छ : मन्त्री ढकाल



काठमाडौँ, ५ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताउनुभएको छ ।

नागरिक लगानी कोष, लक्ष्मी बैंक र सिद्धार्थ बैंकको आर्थिक सहयोग संविधान दिवसका अवसरमा आज यहाँ आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै प्रक्रियामा सहभागी भई संविधान दिवस नमनाउने राजनीतिक दलमाथि जनताले प्रश्न उठाउने बताउनुभयो । हालसम्म ३३६ कानून निर्माण भएको बताउँदै उहाँले मौलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न अधिकारको व्यवस्था गरिएको जानकारी गराउनुभयो । उहाँले संविधान दिवस नमान्ने दल नैतिकरुपमा सरकारबाट अलग हुनुपर्ने बताउँदै त्यस्ता नेताले सरकारी भत्ता लिन नहुने बताउनुभयो ।

सांसद राजेन्द्र केसी, कृष्णगोपाल श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, काठमाडौँ जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, नेपाली काङ्ग्रेस निकट ट्रेड युनियन सङ्गठनका कोषाध्यक्ष मोहन बस्नेतले शुभकामना व्यक्त गर्नुभयो ।