काठमाडौँ, ६ असोज । गहृमन्त्री रामबहादुर थापा बादल’ र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।
आज दिउँसो गृहमन्त्री थापा र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच राष्ट्रपति सीको आसन्न भ्रमणलाई लिएर भेटवार्ता भएको छ । गृहमन्त्री थापासँग राजदूत यान्छीले आफ्ना राष्ट्रपतिको असोज अन्तिम साता हुने भनिएको भ्रमणका क्रममा सुरक्षा तयारीबारे जानकारी लिनुभएको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्री थापा र राजदूत यान्छीबीचको भेटवार्तापछि सुरक्षा व्यवस्थाका लागि भन्दै चारवटै सुरक्षा निकायका उच्च अधिकारीबीच गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । बैठकमा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा सेनाका उच्च अधिकारी सहभागी रहेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपालको औपचारिक भ्रमणमा आउने तय भएसँगै भ्रमणका दौरानमा अपनाइने विशेष सुरक्षा रणनीति तय गर्ने पनि बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्