भक्तपुर, ६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कागज मिलाउन जान्नेलाई नभएर जनताको पक्षमा काम गर्नेलाई विकास योजनाका काम दिन स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेडले मन्त्रालयको सहयोगमा ‘प्रदेश तथा स्थानीय तहको समृद्धिका लागि सहकारी’ विषयमा आयोजना गरेको दुई दिने प्रादेशिक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले भन्नुभयो, ‘योजना माग्न आउँदा कागज बनाएर ल्याउनेलाई मात्र योजना नदिनुस् । काम गर्नेले पाउँदैन ।
कागज बनाउनेले पाउँछ, निजी स्वार्थमा प्रयोग गर्छ । सबै जनतालाई समेटेर काम गर्नेले योजना पाउँदैनन् । किनकि उसको नेतासँग पहुँच नै छैन र उ दिनदिनै आउन पनि भ्याउँदैन, अनि भेट्न पनि सक्दैन ।’ मन्त्री अर्यालले जनताको मन जित्न नसेकामा जनतामा आशंका र अविश्वास खडा हुने र गणतन्त्र पनि जोगाउन कठिन हुने बताउनुभयो । उहाँले अहिले पनि सरकार तथा व्यवस्थालाई नै आक्रमण गर्ने, अनावश्यक हल्ला फैलाउने, अविश्वास खडा गर्नेलगायतका चलखेल सुरू भइसकेको भन्दै यी कुरालाई चिर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्