समाचार

प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ



गोरखा, ६ असोज । मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सदरमुकामको हरमटारीमा मापसे गरेको भन्दै मोटरसाइकल छाडेर जान आग्रह गर्दा अटेर गर्दै उनीहरुले प्रहरीलाई दुर्ब्यवहार गरेपछि पालुङटार नगरपालिका-२ खोप्लाङका २७ वर्षका विकास भट्ट र २५ वर्षका भाष्कर पोखरेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘मापसे गरेर सवारी चलाउनुभएको रहेछ,’ प्रहरी निरीक्षक कमला नरालले भनिन्, ‘चेकजाँचको क्रममा सम्झाइ बुझाइ गर्दा ड्युटीमा खटिएको प्रहरी र ट्राफिकलाइ गाली गरेपछि नियन्त्रणमा लिएका हौं ।’

प्रहरी चौकी पुगेपछि पनि भट्टले प्रहरीमाथि अनावश्यक धम्की र गालीगलौज गरेको बताइएको छ । उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरी निरीक्षक नरालले बताइन् ।