Banner News

अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रमा गढीमाईको विकास गर्न आवश्यक : राष्ट्रपति



वीरगञ्ज, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाई क्षेत्रको विकास गर्नुपर्नेमा आवश्यक रहेको बताएकी छन् ।

आज देखि सुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको पर्यटन प्रवर्द्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् । उनले नेपाल सरकारले गढीमाई नगरपालिकालाई नमुना शहरका रुपमा विकास गर्न सारेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै प्रदेश नं २ सरकारले अगाडि सारेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा आफनो पूर्ण समर्थन रहेको बताइन् ।

यस क्षेत्रलाई सरकारले माछामा आत्मनिर्भर बनाउन माछा सुपर जोन कार्यक्रम अघि सारेको बताउँदै यहाँको कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्न सङ्घीय सरकार कटिबद्ध रहेको बताइन् ।