राजनीति

आफु पानीमाथिको ओभानो हुन विपक्षीले सरकारलाई अनावश्यक आरोप : सांसद बस्नेत



भक्तपुर, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफु पानीमाथिको ओभान हुन खोज्नको लागि सरकारलाई अनावश्यक आरोप लगाई छानविनलाई प्रभावित पार्न खोजेको बताउनुभएको छ ।

नेपालीहरुको महान् चाड विजया दशमी, शुभदिपावली, छठ, नेपाल संवत् ११४० को अवसरमा नेकपा वडा नं. ८ चाँगुनारायणले आयोजना गरेको चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै सांसद बस्नेतले देशमा भएका ठूला ठूला भ्रष्टाचार, अनियमितता, सार्वजनिक जग्गालाई व्यक्तिको नाममा लगिएका कार्यलगायतका कार्यहरु वर्तमान सरकारले खोजि तथा छानविन कार्यलाई तिव्र बनाएपछि आफु पानीमाथिको ओभान हुन खोज्नको लागि सरकारलाई अनावश्यक आरोप लगाई छानविनलाई प्रभावित पार्न खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जो चोर उसकै ठूलो स्वर भएको छ । विगतमा नेतृत्व गरेका राजनीतिक पार्टीको चिना टिपन हेर्दै जाँदा अहिले जसले सरकारलाई आरोप लगाएको छ तिनकै नेताले नै अवैधानिक काम गरेका छन् । भ्रष्टाचार गरेका छन्, भू–माफिया भएका छन् । भ्रष्टाचारमा गोल्ड म्याडल तथा विद्याबारिधी गरेका व्यक्ति कता छन् ? अनुसन्धानलाई प्रभाववित पार्न कुनै पनि घटनालाई राजनीतिककरण गर्न खोजिएको छ । कांग्रेसका कारण निर्मला हत्या प्रकरण पत्ता लाग्न कठिनाई भएको तर सरकारले अब विशेष संयन्त्र प्रयोग गरी तत्काल पत्ता लगाउँछ ।’

वाइडबडी काण्डमा प्रमुख प्रतिक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो श्रीमतीलाई प्रयोग गरी भ्रष्टाचार तथा अवैध काम गर्ने गरेको स–प्रमाण आफु जनताको माझ ल्याइरहेको उहाँले उल्ले गर्नुभयो । उहाँले कांग्रेस नेता जगन्नाथ आचार्यले विमली उपाध्यायको नाममा हनुमन्ते नदीको ५४ रोपनी जग्गा नामसारी गरी सार्वजनिक जग्गालाई व्यक्तिको नाममा ल्याएको प्रमाण प्रस्तुत गर्दै हनुमन्ते नदीमा ५४, मनोहरामा ६४, बोडेको कमलपोखरीमा १५, दक्षिण बाराहीमा २२, स्वरस्वती खेलको बसपार्कको २३ रोपनी सार्वजनिक जग्गालाई व्यक्तिको नाममा लगिएको र त्यसलाई पुनःसार्वजनिक जग्गाकै रुपमा फर्काउने कार्य भइरहेको जानकारी गराउनुभयो । उहाँले चाँगुनारायण नगरापालिकाले नगरकोटमा मात्र कब्जा गरिएको करिव ८५ रोपनी सार्वजनिक जग्गा कब्जा गरी टहरा बनाई बसेकालाई डोजर लगाई भत्काएको समेत जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘हिजो राजनीतिक आडका भरमा सार्वजनिक जग्गा व्यक्तिको नाममा लाने अनि अहिले सरकारले यसो गर्यो, उसो गर्यो भनि नकरात्मक हल्ला फैलाउने काम भइरहेको छ । वर्तमान सरकार निर्माण भएपछि अख्तियारले इतिहासमा नै सवैभन्दा बढी अवैध काम गर्नेलाई कारवाही गरेको छ ।’

सांसद बस्नेतले विगतको इतिहास हेर्दै आउने हो भने कांग्रेसले भ्रष्टाचार तथा अनियमितामा विद्याबारीधि नै गरेको उल्लेख गर्दै भ्रष्टाचारीलाई २ सय ५० किलोको माला लिएर जेलबाट निकाल्न जाने कुन पार्टी हो ? यीनै व्यक्तिहरु हुन देशमा अवैध काम गर्ने अनि अहिले सरकारलाई गाली गर्ने ? भनि प्रश्न समेत गर्नुभयो ।

गलत कुरा गरेर जनतालाई भ्रमित पार्ने काम नगर्न कांग्रेसलाई अनुरोध गर्दै सांसद बस्नेतले प्रधानमन्त्री केपी ओलीको नाममा एक रुपैया भ्रष्टाचारको प्रमाण ल्याउन चुनौति समेत दिनुभयो । भक्तपुरमा नेमकिपाले २६ वर्षदेखी गरेको काम र नेकपाले करिव दुई वर्षमा गरेको काम नेमकिपा भन्दा नेकपा माथि भएको उल्लेख गर्दै उहाँले भक्तपुरमा कांग्रेसले १५ वर्ष नेतृत्व गरेको भक्तपुरको काम र नेकपाले गरेको दुई वर्षको काम नेकपा धेरै माथि रहेको बताउनुभयो ।

भक्तपुरमा हुने अवको उपनिर्वाचनामा नेकपाको अर्को विकल्प नभएको बताउँदै विकासका नाममा आएका बजेटलाई गलत प्रयोग गर्नेलाई हटाउँदै आगामी उपनिर्वाचनमा नेकपालाई निर्वाचित गराउनुपर्नेमा उहाँले जोड दिनुभयो । भक्तपुरको नामले देशभर सहयोग र सद्भाव पैदा गरेको आगामी उपनिर्वाचनमा विरोध गर्ने हैन विकास गर्ने जनप्रतिनिधि चाहिएको बताउँदै उहाँले क्षेत्रको उपनिर्वाचनमा नेकपा बाहेक अरुले जिते कार्टुन मात्र हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेमकिपा र कांग्रेसले विकास निर्माणको कुरा गर्न जानेको छैन । तीनै तहको सरकारमा जम्मा जानेको नै विरोध मात्र हो । त्यस्तै नेमकिपाको थोत्रो मादल अब कसैले बजाउनेवाला छैनन्, अर्को पटक नेमकिपा जनताबाट टाढा हुन्छ । आफ्नो अस्तित्व जोगाउनु छ भने नेमकिपाले जनताको चाहना अनुसारको विकास निर्माणमा अघि बढ्नुपर्छ ।’

जो सवैभन्दा ठूलो स्वरले बोल्छ, जसरले सवैभन्दा वढि विरोध गर्छ, जसले सवैभन्दा बढि गाली गलौज गर्छ, जसले समाजलाई अस्लीलता फैलाउँछ त्यो नै सामाजिक अभियान्ता हुँ भन्दै हिड्न थालेको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले ठूलो स्वर गर्दैमा सामाजिक अभियान्ता हुन नसकिने दावी गर्नुभयो । हिजो कसले के गरेको छ भन्ने कुराको इतिहास बुझ्न जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘सय भारी खर जलाउने र सय भारी खर बटुल्नेलाई एकै ठाउँमा राखेर गाली गर्नु हुँदैन । सामाजिक सञ्जालको दुरुपयोगका कारण समाज तथा परिवारलाई एक्ल्याउने कार्य भइरहेकाले सचेत हुन जरुरी रहेको छ । अतिवादी विचारले मुलुकलाई हित हुँदैन ।’

पेट्रालियम पाइपलाईन, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, रेल मार्ग, सुरुङ मार्ग, राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण, ढल, सिँचाई, खानेपानी, सडकलगायतका भौतिक संरचना निर्माण कार्य तिव्र गतिका साथ भइरहेको जानकारी गराउँदै सांसद बस्नेतले सरकार कृषिलाई यान्त्रीकरण तथा बैज्ञानिकीकरण गर्दै अघि बढेको बताउनुभयो । उहाँले युवालाई देशमा नै राजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले विभिन्न प्रकारका विना धितो ऋणको व्यवस्था गरिरहेको जानकारी गराउँदै युवा स्वरोजगार कार्यक्रम सरकारले श्रमसँग जोडेको बताउँदै उक्त कार्यले किन मिडियालाई टाउको दुख्यो ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले मिसन पत्रकारीता बोक्ने केही विग हाउसका मिडियाले गरिवहरुको प्रतिनिधि नभई सामन्त, पुँजीवादी तथा दलालहरुको प्रतिनिधिको रुपमा स्थापीत हुँदै गएको समेत आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य, भक्तपुरका सह—इन्चार्ज र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले चाँगुनारायण क्षेत्रले परिवर्तनको रुपरेखा कोरिसकेको उल्लेख गर्दै यस क्षेत्रमा तित्र्रत्तर विकासका कामहरु भइरहेको बताउनुभयो । अहिले चाँगुनारायणका हरेक वडामा १० देखी १५ करोडसम्मका योजनाका कामहरु भइरहेको उहाँको दावी छ ।

८ नं। वडा कमिटीका अध्यक्ष नारायणी फुयाल दंगालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नेकपा जिल्ला कमिटी सचिव डिपी ढकाल, चानपा ८ नं। वडा अध्यक्ष परासर सापकोटालगायतले नेकपाको नीति नै निर्वाचनमा प्रतिष्पर्धा, विकासमा साझेदारी भएकाले समृद्ध नेपाल सुखी नेपाली बनाउने कार्यभार नेकपाको काँधमा आएको बताउनुभयो ।