Banner News

मित्रताको मूल्य नै सर्वाधिक हुन्छ, लाभहानिको हिसाबकिताब हुदैन : प्रम ओली



काठमाडौँ, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन ।

प्रधानमन्त्री निवासमा आज राष्ट्रिय समाचार समितिसहित सञ्चारमाध्यमका सम्पादक तथा प्रतिनिधिसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चीन पिङसँग छिट्टै नेपालमा हुने उच्चस्तरीय भेटघाटमा सरकार सरकार र जनता जनताबीचको सम्बन्ध बहुआयामिक बनाउन नै आफूले प्रयास गर्ने बताए ।

उनले भने, उच्चस्तरीय भेटघाटमा लाभहानिको हिसाबकिताब हुन्न, मैले मित्रतालाई नै जोड दिने छु, आपसी मित्रता भएमा नै दुवै पक्षलाई लाभैलाभ हुन्छ, दुई देशबीचको भेटघाटमा भौतिक अपेक्षा तपसीलका कुरा हुन्, भेटपछि प्रतिफल प्राप्त होला नै, तर सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक हुन्छ ।’ महामहिम राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमण एकदम सफल हुन्छ ।’

चिनियाँ राष्ट्रपति सीले निकट भविष्यमा नै नेपालको औपचारिक भ्रमण गर्ने तयारी छ । प्रधानमन्त्री  ओलीले भने, “हाम्रा आवश्यकताअनुसार हामी अगाडि बढ्छौँ, सी पथमा नेपाल गयो भन्नु सङ्कीर्णता हो, विचारशून्यता हो, असहिष्णुता हो ।’

नेपाल अन्तरराष्ट्रिय जगत्मा सुनिन र देखिन थालेको हो त भन्ने जिज्ञासाका सन्दर्भमा प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय हित, न्यायोचितता र अन्तरराष्ट्रिय उत्तरदायित्वका साथ अन्तरराष्ट्रिय सम्बन्धमा ध्यान दिएको बताए ।

‘नेपाल स्वाधीन मुलुकका रुपमा विगतदेखि रहे पनि त्यस स्वाधीनतालाई खुम्चाएर र चाउ¥याएर आफैँ प्रयोग नगर्ने स्थितिबाट अहिले बाहिर निस्किएको जिकिर गर्नुभयो । नेपालले आन्तरिक र बाह्य रुपमा स्वतन्त्ररुपमा आफ्नो स्वाधीनताको अभ्यास गर्न थाल्यो, गरिरहेको छ । त्यसकारण नेपाल देखिन र सुनिन थालेको छ ।’

नेपालको राष्ट्रिय छवि वृद्धि भएकामा ढुक्क हुँदै प्रधानमन्त्री ओली भने, ‘नेपाल नेपालको रुपमा आफ्नो स्वतन्त्र आधारभूत नीतिमा उभिन्छ । हामी क्षणिक लाभमा बहकिएर हामी हिँड्दैनौँ । राष्ट्रिय हित, चरित्र र स्वाधीनताका लागि काम गर्छौँ ।, हाम्रो सार्वभौमिकता, विश्वबन्धुत्व, शान्तिको पक्षधरता, न्यायपूर्ण विश्वव्यवस्थाका नीति, संयुक्त राष्ट्रसङ्घका बडापत्र, असंलग्न आन्दोलन र पञ्चशीलका सिद्धान्तमा हामी अडिग रहन्छौँ ।’