राजनीति

दुई तिहाई सरकारको मुल्यांकन जनताले गरिराखेका छन् : बरिष्ठ नेता नेपाल



भक्तपुर, १९ असोज । पूर्वप्रधानमन्त्री एवम् नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले दुई तिहाई सरकारको कामको मुल्यांकन नेपाली जनताले गरिराखेको बताउनु भएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दैले उहाँले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।

नेकपा र सरकार यतिखेर अग्नि परीक्षामा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो–“अहिले सरकार र नेकपाको अग्नि परीक्षा सुरु भएको छ , वडा, नगर, प्रदेशदेखि केन्द्रसम्ममा भएको कामको जनताले मूल्यांकन गरिरहेका छन् ।” नेता नेपालले दुई तिहाईको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले देखाउने बताउदै उहाँले मंसिर १४ गतेअधिकांश नेकपाका नेताहरुले जितेको स्थानमा उपनिर्वाचन हुने भएकाले ती स्थानहरुमा आफ्नो शान जोगाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।

नेता नेपालले हिजो के भएको थियो भन्नु भन्दा पनि अहिले के गर्ने हो त्यसको योजना बनाएर काम गर्नुपर्छ भन्दै काम गर्दा कमीकमजोरी भए स्विकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले जनतालाई खुसी पार्ने ढंगबाट काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार र नेकपामाथि आलोचना गर्नेहरु प्रति लक्षित गर्दै उहाँले भन्नुभयो–“अरुलाई हलो छ्याप्नु भन्दा अरुको घरमा ढुङ्गा हान्नु भन्दा पहिला आफूलाई हेर्नुस्, आफूले के गरे, भन्ने आफै समिक्षा गर्नुस् ।”

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अहिलेकै पूँजिवादी कार्यशैलीबाट समाजवादतर्फ उन्मुख हुन नसकिने भएकाले पूँजिवादी चरित्र र सामन्तवादको अत्य अपरिहार्य भएको बताउनुभयो ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष धु्रवराज बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम् भक्तपुर इन्चार्ज दिलिप प्रजापति, केन्द्रिय सदस्य तथा भक्तपुरका सह इन्चार्ज सोम मिश्रलगायतले दुई तीहाई सरकारसँग जनताका असिमित अपेक्षा भएकाले त्यसलाई सम्बोधन गर्ने गरि कार्य गर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।