काठमाडौँ, २४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ ।
भ्रमणको पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छौं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहन्छौँ ।”
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिनुभएको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले किमाथाङ्का र कोरला नाकाको स्तरोन्नतिसहित सञ्चालन, टोखा–छहरे सुरुङ निर्माण, अरनिको मार्ग स्तरोन्नति आदि विषययमा चीनसँग वार्ता हुने र विस्तृत तयारी नेपाल सरकारले गर्ने जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसका नेता डा। प्रकाशशरण महतले नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एण्ड रोड’ इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्नुभयो । छलफलमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्गेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल र डा। बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो ।
चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्