Banner News

राष्ट्रपति सीको नेपाल भ्रमणले पर्यटनमा बहुआयामिक प्रभाव पर्छ : मन्त्री भट्टराई



काठमाडौँ, २५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन् ।

मन्त्री भट्टराईले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको भ्रमणले नेपालमा चिनियाँ पर्यटकको निम्ति महत्वपूर्ण आकर्षण बन्ने र यसले चिनियाँ पर्यटकको बढोत्तरी हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति सीको नेपाल भ्रमणको सन्दर्भमा गरिएको कुराकानीका क्रममा मन्त्री भट्टराईले २३ वर्षपछि चीनका राष्ट्र प्रमुखबाट हुन गइरहेको नेपाल भ्रमणले मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण अवसर भएको बताए ।

उनले भने, ‘विश्वको अर्थतन्त्रमा, विश्वको सामरिक क्षेत्रमा र विश्व पर्यटन प्रवर्द्धनमा चीनको योगदान र भूमिका निर्णायक ठाउँमा पुगेको छ। त्यस्तो मुलुकको राष्ट्र प्रमुखको हैसियतले नेपालको भ्रमण गर्नु नेपाल र नेपालीका लागि गौरवको विषय हो ।, नेपालको तर्फबाट पटकपटक राष्ट्रप्रमुख र सरकार प्रमुखको चीनमा भ्रमण हुँदै आयो तर चीनको तर्फबाट यो तहको भ्रमण हुन सकेको थिएन अहिले भ्रमण हुनु हाम्रा लागि महत्वपूर्ण छ ।’

पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षको समयमा चीनबाट कम्तीमा पनि पाँच लाख पर्यटक नेपालमा भित्र्याउने मिसनका साथ काम गरिरहेको उल्लेख गरे । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ ।

अहिले चीनका कुनमिङ, ग्वोञ्जाओ, ल्हासा, छेन्दु, सिचुवानलगायत विभिन्न गन्तव्यबाट चाइनिज एयरलाइन्सले नेपालमा सिधा उडान भर्दै आएका छन् ।

नागरिक उड्डयनका क्षेत्रमा पनि नेपाललाई चिनियाँ पक्षको महत्वपूर्ण सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै  विशेषगरी भैरहवास्थित निर्माणको अन्तिम चरणमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने ठेकेदार कम्पनी चिनियाँ रहेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा पनि चिनियाँ कम्पनीले लिएको छ ।

उनले भने, ‘कुनै पनि राष्टका राष्ट्रप्रमुख वा सरकार प्रमुख जुन स्थानमा भ्रमण गर्नुहुन्छ, त्यहाँ पर्यटक बढेको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ, जनकपुरधाम र पशुपतिनाथको भ्रमण गरेपछि पर्यटकको सङ्खयामा वृद्धि भएको छ ।, चिनियाँ राष्ट्रपतिको भ्रमणपछि चिनियाँ पर्यटकको हालको सङ्ख्याबाट वार्षिक पाँच लाखभन्दा बढी पुग्ने अपेक्षा गरेका छौँ । यो भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनका निम्ति बहुआयामिक प्रभाव पार्नेछ ।’

उनले नेपाल सरकार, जनता र सिङ्गो मुलुक चिनियाँ राष्ट्रपतिको भ्रमणकोे भव्य स्वागतको तयारीमा जुटेको र उनको दुईदिने राजकीय भ्रमण पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरेका छन ।