काठमाडौँ, २ कार्तिक । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने ढङ्गबाट अनुशासित र मर्यादित भएर प्रतियोगितामा प्रस्तुत हुन खेलाडीलाई निर्देशन दिएका छन् ।
सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा भाग लिन उहान पुगेका मन्त्री पोखरेलले खेलाडीले गर्ने व्यवहारले देश र सङ्गठनको छवि झल्कने भएकाले अनुशासित भई ज्ञानलाई कुशलतापूर्वक प्रयोग गर्न सुझाव दिएका हुन ।
उनले भने, ‘यो खेलमा सहभागिता नेपालीका लागि निकै महत्वपूर्ण हो, सेनाका खेलाडीका लागि विशेष अवसरका रुपमा रहेको छ, नेपाल र नेपालीको छवि उच्च राख्ने गरी प्रतियोगितामा खेलाडीले प्रस्तुत हुनुपर्छ, प्रतियोगितामा भाग लिन पाउँदा हाम्रो गौरव बढेको छ ।, यहाँ हामीले राम्रो बोली, व्यवहार, चरित्र र क्रियाकलाप देखाउनुपर्छ ।’
इन्टरनेशनल मिलिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम)को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सैनिक खेलकूद प्रतियोगिता चिनियाँ जनमुक्ति सेनाले आयोजना गरेको हो । प्रत्येक चार वर्षमा हुने सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ ।
नेपालसहित विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सैनिक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ ।
उक्त अवसरमा उपरथी शनिचन्द्रबहादुर सिंह र महासेनानी शशिकिरण रायमाझीले सातौँ प्रतियोगिताको वस्तुस्थिति र नेपाली खेलाडीको तयारी अवस्थाबारे जानकारी गराएका थिए । प्रतियोगिताको उद्घाटन आज राति ८ बजे हुँदैछ ।










प्रतिक्रिया दिनुहोस्