Banner News

भ्रष्टाचार र अपराधविरुद्ध सरकार निर्मम हुन्छ, कसैलाई पनि छुट दिँदैन : मन्त्री बाँस्कोटा



काभ्रे, ३ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान कानूनी शासनभित्र कसैले उन्मुक्ति पाउन नसक्ने बताउँदै वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही कसैलाई पनि छुट नदिने उद्घोष गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटिका पदाधिकारीलाई सपथ दिलाउन शनिबार बनेपामा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले कानूनी शासनभित्र कसैले उन्मुक्ति नपाउने र कानून सबैलाई बाराबरी लाग्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार, भ्रष्टाचार र अपराधविरुद्ध निर्मम हुन्छ, कोही कसैलाई पनि छुट दिनेछैन । सरकारले बदला र प्रतिशोधको भावनामा राजनीति नगरेकाले न्याय, समानताको स्थान र विधिको शासनप्रति ढुक्क हुनुहोस् । कानून सबैका निम्ति बराबर हो, विधिमा चलेको वर्तमान सरकार सुशासनको पहरेदार बनिरहेको छ, बनिरहन्छ ।’

मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रशासनलाई चुनौती दिएर गल्ती गरिरहेको दाबी गर्दै उहाँले भन्नुभयो, ‘एकातिर सुशासन स्थापनाको माग गर्ने, अर्कोतिर २२ जनालाई जिउँदै भट्टामा हाल्ने आरोप खेपेका मान्छेलाई गिरफ्तार गर्दा राज्यसंयन्त्र प्रयोग गरेर दुःख दियो, सुशासन खोइ भनेर प्रश्न गर्ने तपाईहरुको नैतिकता कहाँ हरायो ? ।’

उहाँले कांग्रेसलाई सुशासनमाथि आक्रमण नगर्न चेतावनी दिँदै केही समयअघि सभामुखको घटना आउँदा रमाउने र कानूनी राज ठीक लाग्यो भन्ने काङ्ग्रेस २२ जनाको जीवनलीला समाप्त पार्नेलाई गिरफ्तार गर्दा कानूनी शासन भएन, दमन गरियो, भन्ने लोकतान्त्रिक संस्कार कुन हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।