राजनीति

राष्ट्रपति सीको भ्रमणले असाधारण रुपमा एकतावद्ध भएको छ : प्रवक्ता श्रेष्ठ



काठमाडौँ, ५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणले नेपालको मान र प्रतिष्ठा विश्वभर दरविलो रुपमा स्थापित भएको बताउनुभएको छ ।

संखुवासभा सरोकार समाजले आयोजना गरेको चीनका महामहिम राष्ट्रपति सी चिनफिङ भ्रमणका सन्देश र उपलब्धी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले चीनका राष्ट्रपति सीको भ्रमणले नेपालमा विभिन्न राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरुमा असाधारण रुपमा एकतावद्ध भएको उल्लेख गर्नुभयो ।

उहाँले सीको भ्रमणले त्रिदेशीय विकास र समृद्धिको आधार तयार पारेको बताउँदै नेपालको विकास कुनै देशले गर्ने नभई आफैले गर्ने र विदेशीले सहयोग मात्र गर्ने उल्लेख गर्नुभयो । विश्वमान चित्रमा शक्तिशाली राष्ट्र चीन र राष्ट्रपति सीको नेपाल भ्रमणले विश्वभर विश्वास र आत्मीयतालाई नयाँ उचाईमा पुर्याएको उल्लेख गर्नुभयो ।

सीको भ्रमणले राजनीतिक युगमा पुरानो युगको अन्त्य भई नयाँ युगको प्रारम्भ भएको बताउँदै आगामी भ्रमण वर्ष २०२०लाई सफल बनाउन मुख्य आधार तयार भएको बताउनुभयो ।

तेजबहादुर ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले सीको भ्रमणले मित्रता, कनेक्टीभिटी र मुलुकको विकासमा अतुलनिय सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वखानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्का, पूर्व स्वास्थ्य तथा खानेपानीमन्त्री तारामान गुरुङ, चीनका पूर्वराजदुत टंक कार्की, डा. रमेश ढुङ्गेल, राप्रपाका सहमहामन्त्री बसन्तमान अधिकारीलगायतले शुभकामना व्यक्त गर्नुभयो भने डा. देउमान सम्वाहाम्फेले कार्यपत्र प्रस्तुत गर्नुभयो ।