काभ्रेपलाञ्चोक, ७ कार्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताउँदै जिउँदै मान्छे जलाउने अपराधीले क्षमा नपाउने स्पष्ट पार्नुभएको छ ।
लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई बुधबार बनेपामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘मान्छेलाई जिउँदै जलाउने, महिलामाथि दुर्व्यवहार गर्ने, गाउँले र महिलामाथि झम्टिने अपराधीलाई कुनै क्षमा हुन्न, कुनै कसरत बाँकी नराखी कानूनी कठघरामा उभ्याइन्छ, सजाए दिलाइन्छ ।’
उहाँले विधिको शासनमा जो-कोहीले पनि उन्मुक्ति नपाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरणबारे मिडियाले पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सामाजिक क्षेत्रले पनि यसविरुद्ध आवाज उठाउनुपर्छ, सबै मिलेर अपराधीकरण र भ्रष्टिकरण न्यूनीकरण गर्दै जाने हो ।’ सरकार भ्रष्टाचारविरुद्ध निर्मम तवरले लागिरहेको उहाँको भनाइ थियो ।
उहाँले काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गबारे चीनसँग सम्झौता भइसकेको र पूर्वी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बनेपामा थप विकासका काम थालिने चर्चा गर्दै लायन्स क्लबको नीति र कार्यविधि हेरेपछि मात्रै आवश्यक सहयोग गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्