Banner News

म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो : अध्यक्ष प्रचण्ड



विराटनगर, ९ कार्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू ओरिजिनल माओवादी नभई आफु पनि चौथो महाधिवेशनको मदन भण्डारी नै भएको उल्लेख गर्नुभएको छ ।

शुक्रबार विराटनगरमा दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको अवसरमा आयोजित शुभकामना आदन–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको उल्लेख गर्नुभयो । मदन भण्डारी ९जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए०सँग तुलना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो । कोअर्डिनेशन केन्द्रको नभए पनि मदन भण्डारीलाई आत्मसात गर्न त्यतिबेलाको मालेले कुनै सङ्कीर्णता देखाएन । त्यतिबेलाका पार्टी नेतृत्वले झापा विद्रोहको मान्छे नै चाहिन्छ भनेनन्, हामी सबैले विचार गर्नुपर्ने कुरा यहाँ छ ।”

झापा विद्रोह, कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरू कहाँ भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “त्यतिबेलाको मालले मदन भण्डारीको क्षमता, गतिशीलता, सिर्जनशीतलाई आत्मसात गर्‍यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ तपाईं हामी सबैलाई थाहा छ । तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन ।”

उहाँले भन्नुभयो, “२०४६ सालको परिवर्तनपछि तत्कालीन माले नेकपा एमाले बन्यो । तत्कालीन नेकपा मसाल नेकपा एकताकेन्द्रमा रूपान्तरित भयो । मदन भण्डारीले त्यतिबेला बडो उदारतापूर्वक फिप्टी–फिप्टी दिएर भए पनि पार्टी एकता गर्नुपर्छ । मनमोहन अधिकारीको व्यक्तित्व ल्याउनुपर्छ भन्नेमा लाग्नुभयो । म पनि निर्मल लामा, मोहन विक्रम, रूपलाल विश्वकर्मा ल्याएर कम्युनिस्ट पार्टी एकता गर्नुपर्छ भन्नेतिर लागेँ ।”