Banner News

बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै : भ्रमणको एजेण्डामा के छ ?



काठमाडौँ, १२ कार्तिक । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले आगामी कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने बताइएको छ ।

राष्ट्रपति हमिदको भ्रमणबारे परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, ‘उताबाट प्रस्तावित मिति नोभेम्बर ११-१४ हो, तर यो मिति केही दिन तलमाथि हुन सक्छ । दुबै देशका परराष्ट्र मन्त्रीस्तरीय वा सचिवस्तरीय बैठकले भ्रमणको मिति निश्चित गर्नेछ । तर, राष्ट्रपति हमिदको नेपाल भ्रमण सुनिश्चित भइसकेको छ ।’

यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीवीच साइडलाइन बैठक भएको थियो । सो बैठकमा पनि राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।

भ्रमणको एजेण्डामा के छ ?

बंगलादेशकी प्रधानमन्त्री हसिनाले राष्ट्रपति हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको बंगलादेशका सञ्चार माध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार दुई देशका प्रधानमन्त्रीको छलफलपछि पत्रकारहरुसँग बोल्दै बंगलादेशका विदेश मन्त्री शाहिदुल हकले दुवै प्रधानमन्त्रीहरुले ‘बीबीआईएन मोटर भेइकल एग्रिमेन्ट’लाई तत्काल कार्यान्वयनमा ल्याउने तत्परता व्यक्त गर्नुभएको बताइएको छ ।

बीबीआईएन अन्तरगत चारदेशहरु, बंगलादेश, भुटान, इण्डिया र नेपाल छन् । यी देशहरुवीच अन्तरदेशीय यातायात सञ्चालनका लागि यसअघि नै मोटर भेइकल एग्रिमेन्ट भइसकेको छ । तर, यसको कार्यान्वयनमा भुटानले गृहकार्य गर्नुपर्ने बताएकाले ढिलाइ भइरहेको छ ।

यो सम्झौता कार्यान्वयनका लागि यदि भुटानले थप समय मागेमा बंगलादेश, इन्डिया र नेपालवीच यो सम्झौता कार्यान्वयन गर्ने र तीन देशवीच यातायात सञ्चालनको प्रक्रिया अगाडि बढाउने प्रस्ताव बंगलादेशले नेपालसमक्ष राखेको छ । पछिल्लो समयमा माथिल्लो कर्णालीबाट उत्पादन हुने ५०० मेघावाट बिजुली खरीद गर्न बंगलादेशले सहमति जनाइसकेको छ ।