काठमाडौँ, १२ कार्तिक । दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
उत्तम साइत ११ बजेर ५५ मिनेटमा
भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
कता फर्किने ?
पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्य ढुंगेलका अनुसार टीका लगाउने व्यक्ति उत्तर फर्किनुपर्छ ।
भाइटीकाको विधि
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा सबैभन्दा पहिले गर्नुपर्छ । त्यसपछि मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।
त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिनुपर्छ । टीका लगाइदिइसकेपछि मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
त्यसपछि सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा टुक्रा भएर नास हुने विश्वास छ ।
सप्तरंगी होइन, पञ्चरंगी टीका
तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीका पञ्चरंगी हुनुपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा रंगको टीका लगाउने भनेर शास्त्रमा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए ।










प्रतिक्रिया दिनुहोस्