समाचार

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु



नवलपरासी, १७ कार्तिक । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, अरूणखोला र दुम्किबासबीच जंगलमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते छन् ।

शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको निधन भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते पंगेनीलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा परी बलेरो चालक गैडाकोट नगरपालिका–८ का ३२ वर्षीय सन्तोष डमरकोटी घाइते भएका छन् ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।