विश्व

जापानमा प्लाष्टिक झोलाको प्रयोगमा रोक लगाइने



एजेन्सी, १८ कार्तिक । जापानमा प्लाष्टिकको झोला प्रयोग रोक लगाइने भएको छ ।

वातावरण संरक्षणका लागि जापानका किराना पसल, सुपरमार्केट तथा औषधी पसलमा प्लाष्टिकको झोला प्रयोग गरेवापत अतिरिक्त शुल्क लगाउन सरकारको एक समिति शुक्रबार सहमत भएको छ ।

टोकियो ओलम्पिक्स पूर्वसन्ध्या अर्थात् सन् २०२० को जुलाईदेखि प्लाष्टिक प्रयोगलाई विश्वका अन्य मुलुकमा जस्तै अतिरिक्त शुल्क लिने र प्लाष्टिकको प्रयोगलाई निरूत्साहन गर्ने वातावरणमैत्री कदम जापानले चाल्न लागेको हो ।

सरकारले उपभोक्तालाई खुद्रा सामान किन्न जाँदा झोला बोकेर जानुपर्ने वानी बसाल्न प्रयास गर्ने र उनीहरूलाई सरकारले प्लाष्टिकको झोलालाई निरूत्साहित गर्नुको कारण बुझाउन जानकारीमुलक अभियानसमेत चलाउने र उनीहरूको जीवनशैलीलाई परिवर्तन गर्ने योजना शुक्रबार सार्वजनिक सरकारी योजनामा छ।

जापानको ८६ प्रतिशतभन्दा बढी प्लाष्टिकजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याउने गरेको सरकारको दावी रहेको छ । सन् २०१८ मा जापान सरकारले प्लाष्टिक फोहोरलाई व्यवस्थापन गर्ने प्रस्ताव ल्याएको छ। जसबाट जापानले सन् २०३० सम्ममा हरेक बर्ष एक चौँथाईका दरले हालको ९४ लाख टन प्लाष्टिक फोहोरलाई घटाउने लक्ष्य जापानको छ ।