राजनीति

कांग्रेसलाई अर्को झड्का : डेपुटी गभर्नर श्रेष्ठ निलम्बन, छानबिन गर्न समिति गठन



काठमाडौँ, १८ कार्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ ।

सोमबार गभर्नर डा। चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । डेपुटी गभर्नर श्रेष्ठ माथि छानविन गर्न राष्ट्र बैंक सञ्चालक समित सदस्य रामजी रेग्मीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य रहनुभएको छ ।

समिति गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ स्वतः निलम्बनमा पर्नुभएको छ । समितिलाई छानबिन गर्नका लागि १ महिनाको समय दिइएको छ । एक महिनाभित्रमा समितिले छानबिन प्रतिवेदन सञ्चालक समितिमा पेश गर्नेछ ।

श्रेष्ठमाथि छानबिन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट नै भइसकेको भन्दै आइतबार अर्थ मन्त्रालयले राष्ट्र बेंकलाई पत्राचार गरेको थियो । मन्त्रालयको पत्रपछि आइतबार बसेको बोर्ड बेठकमा सञ्चालक समितिका सदस्यहरुको मत बाझिए पछि निर्णय हुन पाएन ।

०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ ।