काठमाडौँ, २० कार्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुपोषण र भोकमरी अन्त्य गर्न सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
पोषणसेवा विस्तार अभियानको पाँचौं विश्व सम्मेलनको दोस्रो दिन मंगलबार आयोजित एक सत्रमा मन्त्री ज्ञवालीले ‘काठमाडौंदेखि टोकियोसम्म र त्यसपछि पनि स्वस्थ र स्तरीय पोषित भविष्य’ विषयमा बोल्दै सबै प्रकारका कुपोषणविरुद्ध लड्न जनचेनता फैलाउने स्पष्ट पार्नुभएको हो ।
मंगलबारको छलफल सत्रमा आइभरी कोस्टका उपराष्ट्रपति डानिएल काब्लान डुन्कनले नेपालले पोषण क्षेत्रमा उत्कृष्ट काम गरिरहेको जनाउँदै आफ्नो मुलुकले पनि त्यसलाई पछ्याउने बताउनुभयो । भोको मान्छे कहिल्यै पनि स्वतन्त्र नहुने उहाँको भनाइ थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले नेपालको सरकारी क्षेत्र सानो र निजी क्षेत्र ठूलो भएको उल्लेख गर्दै निजी क्षेत्रको सहयोग पोषण क्षेत्रमा महत्त्वपूर्ण हुने बताउँदै उहाँले भन्नुभयो, ‘पोषणका लागि बहुपक्षीय क्षेत्रबीच समन्वय गरेर अघि बढ्नुपर्छ ।’
पोषण र खाद्य सुरक्षाका लागि राजनीतिक तहमा भएको प्रतिबद्धता र उपलब्धि संस्थागत गरिएको सन्दर्भमा नेपालले विश्व सम्मेलन आयोजना गर्ने अवसर पाएको हो । सम्मेलनमा विभिन्न ८० मुलुकका उच्चपदस्थ प्रतिनिधिसहित करिब १२ सय जनाको सहभागिता रहेको योजना आयोगले जनाएको छ ।
सन् २०२० मा जापानको राजधानी टोकियोमा विश्वस्तरीय पोषणसम्बन्धी कार्यक्रम हुँदै छ ।










प्रतिक्रिया दिनुहोस्