Banner News

एकपक्षीय रुपमा नक्सा जारी गर्नु बल मिच्याइँ हो, त्यो हाम्रो लागी अस्वीकार्य छ : मन्त्री ज्ञवाली



काठमाडौँ, २५ कार्तिक । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले भने, अहिले भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ हो, त्यसलाई हामीले अस्वीकार्य भनेका छौं ।’

हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’

विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।