समाचार

घुस रकमसहित नायब सुब्बा पक्राउ



काठमाडौँ, २५ कार्तिक । पश्चिम रुकुमको मुसिकोटमा कार्यरत एक जना नायब सुब्बालाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराइ दिएवापत सेवाग्राहीसँग १५ हजार घुस रकम माग गरिरहेको अवस्थामा नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक-पटक मोलमोलाई गरी ६० हजार घुस रकम माग्ने गरेको र अन्तिम समयमा १५ हजार रुपैयाँ घुस नदिइकन कागजपत्र नदिने भन्ने सूचना सेवाग्राहीले दिएको आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता कोइरालाले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले खड्कालाई रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ खलंगा स्थित राप्ती होटल एण्ड लज अगाडिबाट पक्राउ गरेको जनाएको छ ।