राजनीति

पहुँचको आधारमा होइन, जनताको आवश्यकता र समस्याको आधारमा योजना : मन्त्री मगर



बर्दिया, २६ कार्तिक । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले पहुँचको आधारमा योजना बनाएर नभई जनताको आवश्यकता र समस्याको आधारमा योजना हुने बताउनुभएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ बर्दियाले आयोजना गरेको ‘स्थानीय स्तरमा खानेपानी तथा सरसफाइको अवस्था, खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतिहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री मगरले अब नयाँ आउने खानेपानी ऐनले खानेपानीसँग सम्बन्धित धेरै किसिमका विवादहरु हल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब संघ र प्रदेश सरकारले आवश्यकताका आधारमा योजना बनाउनुपर्ने हुन्छ । व्यक्तिको पहुँचको आधारमा योजना बनाएर होइन जनताको आवश्यकता र समस्याको आधारमा योजना बनाउनुको विकल्प छैन । सम्पन्न हुन बाँकी रहेका आयोजना र समस्यामा परेका आयोजनाहरुलाई प्राथमिकता दिएर अगाडि बढाउन मैले निर्देशन दिईसकेको छु ।’

मन्त्री मगरले प्रत्येक नागरिकलाई खानेपानीको पहुँच पु-याउन आवश्यकताका आधारमा योजनाहरु बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँबस्ती, टोल, र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ ठूला आयोजनाहरु सञ्चालन गर्ने तयारीमा छौं । जटिलताका बीच खानेपानीको पहुँचको सुनिश्चितता गर्नु अहिलेको प्रमुख आवश्यकता हो । संघ, प्रदेश र स्थानीय सरकारले जनताको समस्या र आवश्यकतालाई प्राथमिकता दिएर योजना बनाउनु पर्दछ । यस कुरामा सबै तहका सरकारहरु जिम्मेवार बन्नै पर्दछ ।’