राजनीति

हामीलाई एक इन्च पनि विदेशी भूमि चाहिँदैन, हाम्रो भूमि पनि दिँदैनौँ : मन्त्री अर्याल



काठमाडौँ, २६ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले आफ्नो देशको सीमा रक्षाको निम्ती सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै विदेशी भूमि एक इन्च पनि नचाहिँने र नेपालको भूमि एक इन्च नदिने उल्लेख गर्नुभएको छ ।

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बोल्दै मन्त्री अर्यालले पटक पटक भारतले नै प्रकाशीत गरेको नेपालको नक्शामा समेत कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भएको उल्लेख गरेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्ने कुरामा नेपाल एकमत छ। कानुनी हिसाबले बैधानिक बनाएर अगाडि बढाउन राष्ट्रिय एकताले ऊर्जा दिएको छ । यही ऊर्जासहित सरकारले भारतसँग वार्ताका लागि पहल सुरु गरिसकेको छ। भारतबाट सकारात्मक सन्देश पनि प्राप्त भएका छन् ।’

भारतले नै स्वीकारेको मन्त्री अर्यालले बैठकमा बोल्दै वि।सं। २०२५ साल भन्दा पूर्व भारतकै सहयोगमा बनेका नक्सामा यी तीनै भूभाग नेपालतर्फ नै रहेको जानकारी दिँदै भन्नुभयो, ‘सन् १८२७ देखि १८५६ सम्मका भारतले नै बनाएका नक्सामासमेत कालापानी र लिपुलेक समावेश गरेको तथ्य छन् । सन् १८६५ मा भारतकै तर्फबाट प्रकाशित भएको थियो । कालापानी भारतले नै आफ्नोतर्फ पारेर नक्सा प्रकाशित गरेको हो । यो विवाद अझै समाधान हुन नसकेको हो । अझै पनि भारत प्रष्ट हुन नसकेको हो ।’

कालापानी, लिपुलेक, र लिम्पियाधुरा नेपालका हुन् भन्ने कुरामा कुनै शंका नरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘लिम्पियाधुराबाट बग्ने काली नदी नै सीमाना हो। नक्कली नक्सा बनाएर कालापानी भारतमा गाभ्ने प्रयास भएको हो । हामीलाई एक इन्च पनि विदेशी भूमि चाहिँदैन, हाम्रो भूमि पनि दिँदैनौँ ।’