राजनीति

कांग्रेस जनताको माझ पाँच वर्षमा एक पटक चुनाबको बेला मात्रै जान्छः बस्नेत



भक्तपुर, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कम्भुकर्ण ६ महिना एक पटक उठ्ने तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पाँच वर्षमा एक पटक मात्र उठ्ने गरेको बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिकाको वडा नं। ८ सुडालमा नेकपा निर्वाचन परिचालन कमिटी गठनको निम्ती आयोजित कार्यक्रमा बोल्दै सांसद बस्नेतले कांग्रेसलाई देशको विकास समृद्धिको सवालमा कुनै चासो नभई पाँच वर्षमा आउने चुनावमा मात्र म यो गर्छ, त्यो गर्छु भन्दै होमिने र जनतालाई झुटो आश्वासन मात्र दिने गरेको बताउनुभएको छ ।

चुनावको समयमा अनावश्यक कुराहरु आफ्नो पार्टीको चुनावी प्रतिवद्धतामा प्रस्तुत गरी जनताको आँखामा कसिङ्गर हाल्ने मात्र कार्य कांग्रेसले गर्ने गरेको उल्लेख गर्दै सांसद बस्नेतले निर्वाचनको समयमा जस्तोसुकै बाचा बनाउने हैन, गर्न सक्ने बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘चुनावको बेलामा आकाशको तारा झार्ने र निर्वाचित भएपछि जनताको बङ्गारा झारिदिन्छु भन्ने जस्तो व्यवहार हुनुहुँदैन । कुम्भकर्ण ५ महिनामा उठ्छ र कांग्रेस जनताको माझ पाँच वर्षमा समयमा एक पटक चुनावको मात्र उठ्छ । अरुवेला सुत्छ । जसबाट विकास र समृद्धिको के आशा गर्ने ?

वर्तमान नेकपा नेतृत्वको सरकारले राजनीतिमा भ्रष्टीकरण, अपराधिकीकरणबाट मुक्त बनाउने कार्य गरिरहेको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कांग्रेस भ्रष्टाचारको अखडा, हत्यारा, तस्कर, माफियाको संरक्षक भएको स्पष्ट पार्नुभयो । कांग्रेस जतिधेरै बेइमाने गर्यो त्यती नै ठूलो पद दिने पार्टी रहेको उल्लेख गर्दै उहाँले कांग्रेस एजेण्डा विहिन पार्टी भएको र उसले जे भेट्यो त्यही मुद्धा समाउने गरेको स्पष्ट पार्नुभयो ।

नेकपाले निर्मम भई कारवाही गर्ने उल्लेख गर्दै नेकपाले जहाँ जित्यो कि त्यहाँ विकास र समृद्धि हुनेमा दुक्क हुन यहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपाले आश्वासन दिने मात्र नभई काम गरेर परिणाममा नै देखाउने पार्टी हो । आश्वासन दिने हैन परिणाम नेकपाले दिन्छ । वास्तविकतामा अडिक रहन्छ । जनताको चाहना, आवश्यकता र भावनालाई आत्मसात् गरी अघि बढ्छ ।’

भक्तपुरमा नेकपाले नेपालमा भन्दा पनि विदेशमा भइरहेको जस्तै गरी विकास भइरहेको जसको नेतृत्व नेकपाले गरेको कुरा सवै नागरिकलाई थाहा भएको उल्लेख गर्दै उहाँले आर्थिक अभाव भएका विकास निर्माणका कार्यहरुमा बजेट थप गरी सम्पन्न गराउने प्रतिवद्धता जनाउनुभयो ।

भक्तपुरको विकासबाट अन्य जिल्लाले सिक्ने प्रकारको भएको उल्लेख गर्दै उहाँले भक्तपुरमा नेकपाले गरेको विकास देखेर विपक्षीमा पसिना आउने थालेको बताउनुभयो । विकासको बहाकको रुपमा नेकपा रहेको उल्लेख गर्दै उहाँले नेकपाको पहलमा भक्तपुरमा राष्ट्रिय गैरवको आयोजना निर्माण शुरु भएको बताउनुभयो । उहाँले उक्त राष्ट्रिय गैरवका आयोजनाहरु निर्धारित समयमा नै सम्पन्न गराउन जनताको साथ र सहयोग रहेको बताउँदै आगामी भक्तपुर क्षेत्र नं १ क को उपनिर्वाचनमा नेकपाका उम्मेदवार देवी प्रसाद ढकाल डिपीलाई जिताउनु अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।