काठमाडौँ, २८ कार्तिक । संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट तीन प्रतिशत जिडिपी रहेको अवस्थामा १० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताउनुभएको छ ।
प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना मंगलबार ललितपुरमा भएको नेपाल भ्रमण वर्ष २०२० को पूर्वतयारी छलफल कार्यक्रममा मन्त्री भट्टराईले बाराको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि बहानामा नरोकिने ठोकुवा गर्नुभयो ।
मन्त्री भट्टराईले सरकारले घोषणा गरेको भ्रमण वर्षमा २० लाख पर्यटकभन्दा बढी आउने मन्त्रीको दावी गर्नुभयो । उहाँले भ्रमण वर्षका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारको तयारीले २० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिने बताउनुभयो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अवरोधका लागि अनावश्यक रुपमा टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो, ‘वातावरण, जंगल, हात्ती र बाघको विषय उचालेर विमानस्थल निर्माण हुन नदिने रणनीति असफल हुन्छ । कम क्षतिमा जसरी पनि निजगढ विमानस्थल निर्माण हुन्छ । यसको विकल्प छैन । यो घोषणा भइसकेको विषय हो ।’
उहाँले निर्माणधिन अवस्थामा रहेका गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानमा २०२० को मार्चदेखि र २०२१ देखि पोखरा विमानस्थल सञ्चालनमा आउने जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्