समाचार

पुरानो बोइङ किन्नेलाई नेपाल एयरलाइन्सको बम्पर अफर



काठमाडौँ, २८ कार्तिक । नेपाल एयरलाइन्सले आफूसँग भएको बोइङ विक्री गर्ने र बोइङ किन्नेहरूलाई १५ दिनभित्र प्रस्ताव गर्न आह्वान गरेको हो ।

२७ वर्ष पुरानो १९० सिट क्षमताको बोइङ विक्री गर्न एयरलाइन्सले सुरू मूल्यांकनमा करिब आधा मूल्य घटाएको छ । एयरलाइन्सले यो पटकका लागि जहाजको न्यूनतम मूल्य ४८ करोड ७२ लाख रुपैयाँ (४२ लाख ५० हजार अमेरिकी डलर) तोकेको छ । प्रत्यक्ष सम्झौताबाट छिनोफानो हुने यो लिलामीमा जसले बढी कबोल गर्छ उसैले जहाज पाउने छ ।

बोइङ ७५७ जहाजमा २ ओटा रोल्सरोयसका इन्जिन छन् । योसँगै जहाजका लागि स्टक पाटपुर्जा पनि किन्नेले पाउने छ । सुरूमा एयरलाइन्सले जहाजको न्यूनतम मूल्यांकन ७६ लाख ७६ हजार अमेरिकी डलर हुने बताएको थियो ।

सोहीअनुसार पहिलो र दोस्रो टेन्डर पनि निकालिएको थियो । यो पटक सुरू मूल्यको ४४ प्रतिशत न्यूनतम मूल्य घटेको छ ।  ‘९एन-एसिबी’ नेपाली दर्ता नम्बर भएको गण्डकी नामको यो जहाजले हालसम्म ८९ हजार घण्टा उडिसकेको छ ।