जनकपुर, ३० कार्तिक । रामसीता विवाह महोत्सवलाई मध्यनजर गरी स्थानीय प्रशासनले जनकपुरसहित सीमा क्षेत्रमा माछा–मासु तथा मदिरा बिक्रीवितरण एवम् सेवनमा निषेध गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले रामजानकी विवाहोत्सवलाई मध्यनजर गरी १२ मंसिरदेखि १६ गतेसम्म जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वाररसीमा एवं जनकपुरधामस्थि परिक्रमा सडक र परिक्रमा क्षेत्रभित्र माछा–मासु तथा मदिरा बिक्रि वितरण, सेवन र कारोबारमा रोक लगाउने निर्णय भएको जानकारी दिनुभयो ।
यसका साथै विवाहोत्सवलाई ध्यानमा राख्दै घरआँगन, सडक, पेटी, नालालगायतका स्थान सफा राख्न व्यवसायी, नागरिक समाज, सरसफाई अभियान्ता सबैलाई जिल्ला प्रशासन कार्यालय धनुषाले आग्रह गरेको छ ।
मंसिर १५ गते मनाइने रामजानकी विवाहोत्सवमा सहभागी हुन १२ मंसिरमा भारतको अयोध्या, वृन्दावनलगायतका विभित्र स्थानबाट जन्तीको रुपमा साधुसन्त आउने कार्यक्रम रहेको छ।
सात दिनसम्म हुने कार्यक्रमअनुसार विवाह पंचमी महोत्सवको पहिलो दिन मंसिर १० गते मंगलवार “जनकपुरधाम नगर दर्शन”, दोस्रो दिन ११ गते बुधबार “फूलबारी लीला” (विवाह मन्डपको फुलबारीमा), तेस्रो दिन १२ गते बिहीबार “धनुषयज्ञ” (रंगभूमिमा), चौथो दिन १३ गते शुक्रबार “तीलकोत्सव” (जानकी मन्दिर प्राङ्गणमा), पाँचौँ दिन १४ गते शनिबार “मटकोर” (गंगा सागरपोखरी घाटमा), छठौं दिन १५ गते आइतबार “स्वयम्वर तथा शु-विवाह” र सातौँ दिन १६ गते सोमबार “राम कलेवा” (जानकी मन्दिर प्राङ्गणमा) हुनेछ भने अयोध्याबाट आएका जन्तीलाई बिदाई गरेर विवाह पञ्चमी समापन हुनेछ ।










प्रतिक्रिया दिनुहोस्