काठमाडौँ, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पछिल्लो समय नेकपा र नेकपा नेतृत्वको सरकारलाई केही अराजक तत्वहरुले नंग्याउने प्रयास भइरहेको उल्ले गर्दै त्यस्ता अराजक तत्वहरुलाई संघले सम्झाई बुझाई गर्ने कार्य गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको सपथ ग्रहण तथा केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै सांसद बस्नेतले युवामा भएको जोस जाँगरलाई सहि तवरले अघि बढाएमा मात्र युवा आन्दोलनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्न सकिने उल्लेख गर्नुभयो । भ्रम लामो समयसम्म नटिक्ने उल्लेख गर्नुभयो ।
अराजकताबाट सदैब सचेत हुनु पर्ने बताउँदै सांसद बस्नेतले निरंकुशता र अराजकतालाई नियन्त्रण गरे पछि मात्र सही जनवादमा पुग्न सकिने धारणा प्रस्तुत गर्नुभयो । संघले देशभरी उत्साहका बाटो देखाउनु पर्नेमा जोड दिँदै उहाँले दुई धारका संगठनलाई एउटै बनाउदै लैजाने र सन्तुलन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
युवा आन्दोलनकै कारण युवाका हक अधिकार सुनिश्चित भएको बताउँदै उहाँले भन्नुभयो, ‘युवाहरुको हक र अधिकार कसैले स्थापीत गर्यो भने त्यो राष्ट्रिय युवा संघ मात्र हो । देशमा भएको विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता लगायतका कार्यको अन्त्यको लागि युवा संघमा उमेर हद कडाईका साथ आफैबाट लागु गर्नुपर्छ । समाजलाई सभ्य र सुसस्कृत बनाउँदै समाजको नेतृत्वदायी भूमिकामा संघका नेता तथा कार्यकर्ता हुनुपर्छ ।’
खुरापाती र गुटवन्दीको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उहाँले तिमी र म बाहेक सवै बेठिक भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको सहि प्रयोग गरी आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै इन्चार्ज बस्नेतले काठमाडौँमा बसेर अनेक प्रकारका चलखेल गरेर राजनीतिमा सफल हुन सकिन्न, गाउँ गाउँमा काम गर्ने मात्र युवा संघको नेता हुन सक्ने संकेत गर्नुभयो ।
युवाहरुको अभिभावक भएर कुनै पनि भूमिका निर्वाह गर्न पछि नपर्ने उद्घोष गर्दै उहाँले विधि, मापदण्ड र सहमतिको माध्यमबाट संगठन अघि बढेको जानकारी गराउनुभयो । उहाँले संगठनका नेता तथा कार्यकर्ताले पाएको जिम्मेवारी नै साझा सम्पत्ती भएको समेत उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्