काठमाडौँ, ४ मंसिर । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा उल्लिखित लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत दार्चुला जिल्लाका सबै बडामा जनमत संग्रह भएको तथ्यांक फेला परेको छ ।
वि.सं. २०३६ मा राजा वीरेन्द्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्था ? भन्ने विषयमा जनमत संग्रह गराउँदा सो क्षेत्रका जनता सहभागी भएको अभिलेख फेला परेको हो ।
राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गका अनुसार उक्त अभिलेखमा महाकाली अञ्चलको सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत दार्चुलाका २५ पञ्चायतका जनताले जनमत संग्रहमा सहभागिता जनाएका थिए ।
२५ जिल्लालाई भाग १ र २ मा छुट्याइएको उक्त अभिलेखमा ती पञ्चायतसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटिएको छ।
यी तीनवटै स्थान अहिले व्यास गाउँपालिकामा पर्दछन् । जनमत संग्रहमा भाग १ मा १२ र भाग २ मा १३ पञ्चायत समावेश गरिएकामा भाग १ मा शंकरपुर, गुलजर, रापला, खण्डेश्वरी, हुती, छापरी, धुलिगन्ज, अलंगा (खलंगा), मल्लिकार्जुन, रिठाचौपाला, खार र धाप रहेका छन् । यस्तै भाग २ मा खरकुडा, लाली, उकु, गोकुलेश्वर, धारी, लटिनाथ, दोहोरीगाउँ, सीताला, सिप्टी, सुन्सेरा, व्यास र सर्मेली रहेका छन् । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्