राजनीति

समाजवादीसँग तत्काल एकताको सम्भावना छैन : संयोजक महतो



लहान, ९ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ ।

संयोजक महतोले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो । लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख गर्दै महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको औल्याउनुभयो ।

संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले संघीय सरकारलाई सहयोग गर्न नसक्ने स्पष्ट पार्नुभयो ।