काठमाडौँ, १४ मंसिर । आज उपनिर्वाचन, संघ, प्रदेश र स्थानीय तहमा ५२ जनप्रतिनिधि चयनका लागि मतदान हुँदै छ ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने ३७ जिल्लाका दुई सय ४७ मतदानस्थलमा मतदानका लागि पाँच सय ३७ केन्द्र राखिएका छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको ले जनाएको छ ।
आयोगले बिहीबार र शुक्रबार सबै मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरे पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
मतदाता परिचयपत्र लिन छुटेका र साथमा नरहेकाहरू मताधिकारबाट वञ्चित नहुन् भनेर अन्य परिचयलाई पनि आधिकारिकता दिइएको आयोगले जनाएको छ । आयोगले मतदाता नामावली वा परिचयपत्रमा सामान्य त्रुटि भएमा त्यसलाई ‘सानोतिनो भुलचुक’ मानेर मतदानमा सहभागी गराउनसमेत सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।
उपनिर्वाचन हुने क्षेत्रमा चार लाख ५४ हजार एक सय १४ मतदाता छन् । मतदान सम्पन्न गराउन पाँच हजार पाँच सय कर्मचारी खटाइएका छन् । प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । उपनिर्वाचन हुने क्षेत्रमा एम्बुलेन्स, शवबाहन, दमकल र निर्वाचन आयोगका अधिकारीबाट स्वीकृत सवारी पास प्राप्त सवारीसाधनबाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ ।
प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन् । तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ । त्यस्तै, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३(२ मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ ।
स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ । पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ । त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्