भद्रपुर, १७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जमिनको अवधारणामा पुँजीवाद र समाजवाद नहुने बताएका छन् ।
आज चन्द्रगढी विमानस्थलको विस्तार तथा विकास गुरुयोजनाका सम्बन्धमा झापाको विर्तामोडमा नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सैद्धान्तिकरुपमा सबै जमीन राज्यको भएको बताउँदै उनले जग्गाधनीलाई उचित मुआब्जा र विकल्प दिएर जग्गा अधिग्रहण गरिने बताए ।
उनले भने, ‘तर यो जग्गाको भाउ यति र उति भनेर उकास्ने र भड्काउने काम कतैबाट पनि नगरियोस्, जमिनको अवधारणामा पुँजीवाद र समाजवाद हुँदैन, यसरी गएन भने विकास हुँदैन ।’
मन्त्री भट्टराईले आगामी दश वर्षभित्र नेपालको समग्र नागरिक उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डमा पुर्याइने बताउदै उनले अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने तयारीका लागि अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जानकारी दिए ।
प्रधानमन्त्रीको गृह जिल्लाको एयरपोर्ट भएको कारण यसमा विशेष जोड हुन्छ, मन्त्री भट्टराईले भने, ‘फ्लाइट सेफ्टी र रन–वे विस्तारका लागि केही सरकारी र केही निजी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको रहेछ, यसमा सबैले आफ्ना ठाउँबाट सहयोग गरिदिन आग्रह गर्छु ।’
प्रतिक्रिया दिनुहोस्