काठमाडौँ, २० मंसिर । राष्ट्रिय सूचना आयोग नेपालका आयुक्त यसोदा तिम्सिनाले पछिल्लो समय बलात्कारको संख्या बढेको नभई पिडितले प्रहरी तथा विभिन्न सम्बन्धीत संघसंस्थामा रिपोर्ट गर्ने चेतनाको विकास भएको उल्लेख गर्नुभएको छ ।
बलात्कार विरुद्धको १६ दिने अभियान अन्तरगत साथी नेपालले काठमाडौँमा आयोजना गरेको ‘बलात्कार विरुद्धको ऐक्यावद्धता’ कार्यक्रममा बोल्दै आयुक्त तिम्सिनाले पिडितमा चेतनाको विकास हुँदै गएको र आफुलाई परेको पिडालाई क्रमिक रुपमा न्यायको ढोका खोज्न थालेको बताउनुभयो । पिडितले न्यायको ढोका ढक्ढक्याउनु थालेसँगै प्रचार प्रसार पनि बढ्दै गएकाले बलात्कारको मात्रा बढेजस्तो भएको तर त्यो यर्थाथमा बढेको नभई पिडितमा शिक्षा तथा जनचेतनाको क्रमिक रुपमा विकास हुँदै गएको बताउनुभयो ।
संविधानले नै नागरिकलाई सूचनाको हक प्रत्याभुत गरेको उल्लेख गर्दै उहाँले सूचनाको हक सम्बन्धी व्यापक जानकारी गराउँदै शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँच तथा आर्थिक अवस्थाको सुदृढिकरण गर्दै अघि बढेमा बलात्कार, महिला हिंसालगायतका जस्ता जघन्य अपराधिक गतिविधिहरु न्युनिकरण गर्न सकिनेमा जोड दिनुभयो । आयोगले सूचनाको हकलाई कक्षा ६–११ सम्म पाठ्यक्रममा नै समावेश गराएको जानकारी गराउँदै उहाँले बलात्कार सम्बन्धी चेतनामूलक कार्यहरु शैक्षिक पाठ्यक्रममा समावेश गर्न सके अपराध न्युनिकरणमा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने बताउनुभयो ।
बलात्कारका समस्या समाधान गर्न सरकार तथा कानुनलाई व्यवहारिक रुपमा लागु गर्ने निकायले कडाईका साथ दण्ड सजायको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले समाज तथा परिवारमा हुने छोरा र छोरी विचको विभेदलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । छोरा र छोरीबीचमा हुने विभेदले समेत समाजमा विभिन्न प्रकारका अपराधिक घटनाहरु हुने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘छोरीलाई घर चाडै आउ, अलि ढिला भए किन ढिला ? कहि बाहिर जानु परे किन जानुपर्ने ? लगायतका प्रश्नहरु खडा हुन्छन् । तर छोरालाई सोही कार्य गर्दै कुनै पनि प्रश्न चिन्ह खडा किन हुँदैन ? छोराले कसैको छोरीलाई गलत नियत राख्छ भने त्यसमा प्रश्न हुँदैन तर त्यहाँ त्यो छोरीलाई मात्र किन प्रश्न गरिन्छ ? त्यसैले मानिसमा चेतनाको विकास गर्नु जरुरी छ ।’

महिला, बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र घिमिरेले पछिल्लो समयमा बलात्कार सम्बन्धी घटनाहरु क्रमिक रुपमा घट्दै आएको बताउँदै कानुनलाई व्याहारिक रुपमा कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले एक्लै यस्ता अपराधिक घटनाहरुलाई न्युनिकरण गर्न नसक्ने उल्लेख गर्दै आगामी दिनमा सरकारको साथमा गैरसरकारी संघसंस्था, सामाजिक संस्था तथा मिडिया संगसँगै हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका पूर्वसचिव तथा मेडिकल विज्ञ डा. सुदा शर्माले बलात्कारका घटनामा डाक्टरलाई दिने गलत जानकारीका कारण रिपोर्टमा केही समस्या उत्पन्न हुने गरेको उल्लेख गर्नुभयो । पछिल्लो समय आफ्नो आफन्त तथा नजिकको व्यत्तिबाट नै बढि मात्रामा बलात्कार हुने गरेको उल्लेख गर्दै उहाँले आफन्तबाट बलत्कृत पिडितलाई स्वयम व्यक्तिले नै ल्याउने र पिडितको वारेमा अन्य जानकारी गराई उपचारको बाटो रोज्ने गरेकाले केही मात्रामा डाक्टरको रिपोर्ट गलत हुने गरेका जानकारी गराउनुभयो । बलात्कारका घटनामा प्रहरीले अस्पताललाई दिएको फारमको आधारमा परिक्षण गरिने भएकाले कसैको पहुँचलाई रोक्न सामुहिक रुपमा परिक्षण गरे कुनै समस्या नहुने बताउनुभयो ।
नेपाल प्रहरीका एआइजी पुष्कर कार्कीले राज्यको कानुनलाई कार्यान्वयन गर्ने मुख्य जिम्म नेपाल प्रहरीलाई रहेको उल्लेख गर्दै कुनै पनि अपराधिक घटनालाई निस्तेज पार्न सवैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले बलात्कारका घटना पहिले रिपार्ट नगर्ने गरेकाले कम भएजस्तो मात्र भएको उल्लेख गर्दै वर्तमान समयमा रिपोर्ट गर्ने कार्यको क्रमिक रुपमा विकास हुँदै गएको जानकारी गराउनुभयो ।
अधिवक्ता सोनानी रेग्मीले बलात्कारका घटनाहरुमा अदालतले करिव ६० प्रतिशतभन्दा माथि मुद्धाहरु कसुर कायम गरेको जानकारी गराउँदै अदालतले पिडितको उमेरको आधारमा सजायको व्यवस्था गर्ने जानकारी गराउनुभयो । उहाँले दण्डहिनताको अन्त्यको लागि राजनीतिक रुपमा प्रतिवद्धता रुपमा अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
रक्षा नेपालका अध्यक्ष मेनुका थापाले बलात्कारका घटनाहरुलाई लिएर पिडितको पक्षमा काम गर्दा विभिन्न प्रकारका चुनौतीहरु समेत आउने गरेको जानकारी गराउँदै प्रहरीले विवेक नगुमाए पिडितले न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजमा रहेका कुरीतिहरु समेत वलात्कारका मुख्य कारण भएको उल्लेख गर्दै विकृति, विसंगति तथा कुरीतिको अन्त्यको लागि विशेष कार्यक्रम गर्नु जरुरी रहेको औल्याउनुभयो ।
द काठमाडौँ पोष्टका प्रधान सम्पादक अनुप काफ्लेले विभिन्न प्रकारका हिंसा, बलात्कार जस्ता जघन्य अपराधिक गतिविधिलाई न्युनिकरण, समाजमा जनचेतनको विकास तथा जनतामा सूचनाको जानकारीको लागि मिडियाको महत्वपूर्ण भूमिका रहेकाले यस्ता प्रकारका समाचारलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्