समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



नवलपरासी, २० मंसिर । नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडि चढेकी युवती गम्भिर घाइते भएकी छिन ।

बिहीबार राति बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका-२ चिसापानीमा ना ५ ख २२३४ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको लु १० प ७०६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दघाट नगरपालिका-२ का २४ वर्षीय प्रबीण श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका श्रेष्ठको उपचारको क्रममा सामुदायिक अस्पताल चिसापानीमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि चढेकी अन्दाजी २३ वर्षीया युवती भने गम्भीर घाइते भएकी छिन् । उनलाई थप उपचारको लागि बुटवल पठाइएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।